Govt Regtd No. DAOK/2066/143
लुगुम गाउँ

परिचय:

 
लुगुम गाउँ मध्य पश्चिमान्चल अन्तर्गत राप्ती अंचलको रुकुम जिल्लामा पर्दछ | यो गाउँ जिल्लाको दक्षिण पूर्वी पुछारको काँक्री गा.बि.स. अन्तर्गतको सबै भन्दा ठुलो मगर गाउँ हो | लुगुम गाउँ काँक्री गा.बि.स. को ५ वटा वडाहरू मिलेर बनेको छ, जस मध्य मुख्य लुगुम गाउँमा ४, ५ र ६ नम्बर वडाहरू पर्दछन भने ७ नम्बर वडा रुजिखोला र ९ नम्बर वडा पन्चासे भन्ने छेउछाउका साना गाउँहरुमा पर्दछन |  लुगुम गाउँको चारै तिर पनि मगर बस्ती भएका गाउँहरु नै पर्दछन जसमा  उत्तरतिर तक र सेरा गाउँ, उत्तर पश्चिममा कोल र गर्खानी गाउँहरु पर्दछन, भने पश्चिममा काँक्री गाउँ, पूर्वमा भल्कोट र दक्षिणमा थवाङ्ग तथा उवा गाउँहरु पर्दछन | लुगुम गाउँको पुर्बी सिमाना बाग्लुङ्ग र दक्षिणी सिमाना रोल्पा जिल्लासंग जोडिएको छ |
 
लुगुम गाउँ पूर्व-पश्चिम तेर्सिएर रहेको दुइ वटा पहाडी शृंखलाको बिचमा अबस्थित एउटा सानो पहाडी उपत्यका हो र लुगुम खोला ह्यिर नेताबाट निस्किएर बढो शान्त रुपले पूर्वबाट पश्चिमतिर लुगुम उपत्यका हुदै बगेर रुकुमकोट नजिकै सानी भेरीमा गएर मिसिन्छ |यो गाउँ समुद्र सतह देखि झन्डै ७,५०० फिट (लगभग २,३०० मिटर) उँचाईमा अबस्थित छ | यो गाउँ लगभग ५०० घरधुरीहरु मिलेर बनेको छ र यसको जनसंख्या लगभग ३,००० जति छ | यस गाउँमा मुख्य गरी मगर जनसमुदाय छ र जसको संख्या लगभग ८५% जति छ | त्यसै गरी कामी र दमाईको संख्या करिब १५% रहेको छ भने बाँकि ५% जति गुरुङहरु छन् | यो गाउँमा सबै भन्दा बढी संख्या पुन मगरहरुको छ भने त्यस पछी क्रमश घर्ति मगर, बुढा मगर र रोका मगरहरु छन् | यो गाउँ सबैले खाम भाषा बोल्दछन र खाम पछिको बोलिने भाषा नेपाली हो | नेपाली भाषाको प्रयोग खास गरी खाम भाषा नबोल्ने र नबुझ्ने बाह्य समाजसंग र बिद्यालयहरुमा पठन पाठनको लागि मात्र प्रयोग गरिन्छ |
 
लुगुम गाउँमा हुने मुख्य नगदे बालीहरु मकै, जौ, आलु, गहुँ, कोदो र फापर हुन् | समुद्र सतह देखि धेरै उच्च सतहमा रहेकोले यहाँ धान खेति हुदैन | हिउँद महिनामा हिउँ पर्ने हुनाले यो ठाउं स्याउ खेतीको लागि पनि उपयुक्त छ र यहाँ केहि मात्रामा स्याउ खेति पनि गरिन्छ | पशुपालन यहाँको अर्को एउटा प्रमुख पेशा हो जसमा भेडा पालन र गाई भैसी पालन प्रमुख छन् | तर बढ्दो आधुनिकीकरण र बैदेशिक रोजगारीको कारणले गर्दा यहाँको पारम्परिक पेशा भेडा पालन बिस्तारै लोप हुदै गई रहेको छ |
 
यो गाउँमा एउटा माध्यमिक र तीन वटा प्राथमिक बिद्यालयहरु छन् | तर भौगोलिक विकटता, सरकारी निकायको पहुँचको कमी र उचित व्यवस्थापनको कमजोरीले गर्दा यहाँको शिक्षाको गुणस्तर राष्ट्रिय मापदण्ड भन्दा धेरै तल छ |  
 
 
 
 "लुकुम" कि "लुगुम" ?
 
लुगुमलाई बिशेष गरेर सरकारी कार्यालयहरुमा र खाम भाषा नबोल्ने मानिसहरुले "लुकुम" भनेर भन्दछन जुन चाँही एउटा अपभ्रम्स गलत प्रयोग हो, जस्तो कि अंग्रेजहरुले भारतको मुम्बईलाइ बम्बई, चेन्नईलाइ मद्रास आदि भनेर अपभ्रम्सित गरेका थिए | लुगुम एउटा खाम भाषी क्षेत्रमा पर्ने गाउँ हो र स्थानीय खाम भाषा बोल्ने सबैले यसलाई "लुगुम" भनेर भन्दछन नकी "लुकुम", साथै यस गाउँका बासिन्दाहरुलाई "लुकुम्याल" नभई "लुगुम्याल" भनेर चिनिन्छ |
 
यस गाउँको नाम "लुगुम" रहन जानुमा पनि एउटा तथ्य छ | बुढापाकाहरुको  भनाइ अनुसार  अहिलेको गाउँ पहिले हालको बिद्यालय र जुम्पाको बिचमा  पर्ने बाङकोना भन्ने ठाउँमा थियो रे | अझै पनि बांगकोनामा पुराना माटाका भाँडाकुँडाका टुक्राहरू र पोतेहरु भेटिनुले यस कुरालाई प्रमाणित गर्दछ | भेडा  पालन लुगुम्यालहरुको पारम्परिक  पेशा भएकोले  त्यसबेला पनि भेडा बाख्रा पाल्ने चलन  अहिलेको तुलनामा  अझै धेरै थियो | त्यसबेला मानिसको बस्ती   बाङकोनामा भएता पनि भेडा बाख्राहरुलाइ अहिलेको गाउँ भएको ठाउँमा गोठ  बनाएर राख्दथे | यस सन्धर्भमा, भेडा भन्ने शब्द नेपाली  भाषाबाट आयातित  शब्द भएता पनि पुरानो ठेट खाम भाषामा भेडालाई "लु" भनेर भनिन्थ्यो  भनिन्छ, साथै खाम भाषामा "गुम" भनेको राती सुत्दाखेरी गरिने दिशा र शिरानीलाइ भनिन्छ | त्यसबेला  उक्त भेडाहरु राखिने ठाउँ त्यसबेलाको  गाउँको शिर तिर पनि पर्ने र भेडाहरूलाई बास पनि गराउने ठाउँ भएकोले भेडा (लु) राखिने शिर (गुम) तिरको ठाउँ भनेर यसलाई "लु-गुम" भनेर भनिन्थ्यो |  किम्बदन्ती अनुसार केहि समय पछी गाउँलेहरुले पाल्ने गरेका  कुखुराहरु तथा अन्य घरपालुवा  पशुहरु बेलुकी बास बस्ने बेला भए पछी जहिले पनि गाउँ छोडेर "लुगुम" तिर गएर बास बस्न जान थालेकाले  गाउँलेहरुले पशु पंक्षीले समेतले रुचाएको ठाउँ पक्कै पनि राम्रो र लक्षिणको हुनु पर्छ भनेर बाङकोनाबाट अहिलेको ठाउँमा बस्ती सरेका हुन् रे | त्यसपछि यस गाउँको नाम नै कालान्तरमा लुगुम रहन पुग्यो |  त्यसकारण हामीले हाम्रो गाउँलाइ हाम्रै असली नाम "लुगुम" बाट परिचित गराउन  चाहन्छौ नकी बाह्य व्यक्तिहरुले  राखी दिएको "लुकुम" बाट | 
 
 
 लुगुम्यालहरु कहाँबाट आए ?
 
लुगुममा सबै भन्दा पहिले कुन थर पहिले आयो भनेर किटेरै भन्न सकिने अवस्था नभएता पनि लुगुम चाँही अहिले भएका थरहरुको संगम स्थल हो भन्ने धेरै आधार र  प्रमाणहरु छन् | बुढापाकाहरुको भनाइ अनुसार पुन र घर्तिहरु पूर्वबाट आएका तथा बुढा र रोकाहरु दक्षिण-पश्चिमबाट आएका हुन् रे | जुन कुरालाई प्रमाणित गर्ने बलियो आधार के छ भने पुनहरुको पुर्ख्यौली जग्गा जमिन जति प्राय गरेर गाउँबाट पूर्वतिर मात्रै छ भने बुढाहरुको जग्गा जमिन गाउँ देखि पश्चिम तिर मात्रै पाइन्छ | यसरी शताब्दियौ अगाडी घुमन्ते जीवन बिताएर हिड्ने लुगुम्यालहरुका पुर्खाहरु लुगुममा आइपुग्दा भेट भइ स्थायी रुपले बसोबास गरेको हुन सक्छ भन्ने कुरा बुझिन्छ |
 
बुढा र रोकाहरुको इतिहासका बारेमा त त्यति धेरै कुराहरु सुनिएको र थाहा भएको छैन तर पुन र घर्तिहरुको बारेमा भने अझै पनि धेरै किंबदन्तीहरु सुनिन्छ, जस अनुसार पुनहरुका पुर्खा बाह्र दर्लाम सिंजाकोट भन्ने ठाउँका राजा र घर्तिका पुर्खा तिनका पुजारी थिए रे | कालान्तरमा छिमेकी राजासंगको लडाइमा हारे पछी आफ्ना समर्थकहरुसंग भागेर  ढोरपाटन जाने बाटोमा पर्ने कुँदे भन्ने ठाउँमा आएर बस्ति बसाएर बसेछन | त्यही बस्दाखेरी घर्तिका पुर्खाले पुन राजाकी छोरीलाई  भगाएर आफ्ना खलक सहित मैकोटमा गइ घरजम गरेर बसेछन |
 
केहि बर्ष पछी उंधेलीमा (कार्तिक-मङ्सिर) शिकार खेल्ने क्रममा ति  पुनहरुका पुर्खा अहिलेको लुगुमको  लामाक्याङ भन्ने ठाउँमा आउँदा बँदेलले आहाराको खोजीमा त्यहाँको जमिन उधुनेर जोतेको जस्तै बनाएको भेटेछन | अनि उनले आफुसंग खाजा भुटेर खान ल्याएको केहि गहुँ त्यतिकै छरेर छाडेछन | त्यस पछिको उभेलीमा (बैशाख-जेठ) फेरी त्यही ठाउँमा शिकार खेल्न आउँदा खेरी आफुले छरेर छोडेको गहुँ लटरम्म पाकेको भेटाएछन् जबकी कुँदेमा छरेको गहुँ अझै हरियो नै थियो | अनि त विचार गरेछन कि यो ठाउँ त कुँदे भन्दा बढी औलो र खेति योग्य रहेछ भनेर | त्यसपछि उनले आफ्नो बस्तीलाई कुँदेबाट लामाक्याङमा सारेछन |  
 
यसरी कुँदेबाट लामाक्याङमा आएर केहि बर्ष बसे पछी फेरी अहिलेको लुगुमको बाङकोनामा बस्ति सारेछन र त्यसपछि मैकोट भागेर घरजम गरि बसेका छोरी  र ज्वाईलाई माफ गरि लुगुममा नै आएर बस्नको लागि बोलाएछन | त्यसपछि भागेर मैकोट गइ बसेका कोही घर्तिहरु कतै बोलाएर मार्लान  भन्ने डरले उतै मैकोटमा नै बसेछन भने जुन छोरी भगाएर लग्नेका सन्तानहरु लुगुममा आइ आफ्ना माइतिहरुसंग  मिलेर बसेछन | त्यसकारण गयाँल घर्तीका  खलकहरु अहिले पनि मैकोटको हार्नुबाङ भन्ने ठाउँमा भेटिन्छन् |  पछी पाल्तु जनावर र कुखुराहरु जहिले पनि बास बस्ने बेला भए पछी अहिलेको गाउँ भएको ठाउँमा गएर बस्न थाले पछी त्यसबेलाको बस्तीलाई बाङकोनाबाट अहिलेको गाउँ भएको ठाउँमा सारेका रहेछन | बुढा र रोकाहरुसंग कतिबेला र कसरी भेट भयो भन्ने त्यति ठोस् प्रमाण र कथाहरु थाहा हुन् सकेको छैन |  
 
 
संस्कृति र परम्परा:
 
संस्कृति र परम्परामा लुगुम गाउँ धनि छ | साउने संक्रान्तिमा लाग्ने झाँक्री मेला यस गाउँको एउटा गौरवशाली परम्परा हो जुन यस क्षेत्रका अन्य कुनै गाउँमा लाग्दैन | यस बाहेक अन्य खाम भाषीहरुले मनाउने भूमे पर्ब र मेला यो गाउँको अर्को ठुलो पारम्परिक पर्ब हो | यस बाहेक दशैँ, तिहार, चैते दशैँ, माघे संक्रान्ति र अन्य हिन्दु चाडपर्बहरु पनि लुगुम्यालहरुले मनाउदछन् |
 
लुगुम्यालहरुले बिशेष गरेर आफ्ना कुल देवता र पुर्खाहरुको बर्षेनी पूजा गर्दछन | थर  अनुसार कुल देवताहरुमा भीमसेन, बराह, सिद्ध बराह पर्दछन भने  सबैले गर्ने आफ्ना पुर्खाहरुको पितृ पूजालाई "पितर" पूजा भनेर चिनिन्छ |
 
नाँचहरुमा नाँचने, झोल्यानी, दिगरे आदि प्रमुख हुन् भने आधुनिकताको चपेटामा  परि नाँचने र झोल्यानी जस्ता प्रसिद्ध नाँचहरु र यानीमाया जस्ता पारम्परिक गितहरु लुगुमबाट हराई सकेका छन् |
 
खेतीपाती बाहेक पशुपालन यहाँको अर्को प्रमुख पेशा हो जसमा भेडा पालन प्रमुख आयको श्रोत हो | तर बढ्दो आधुनिकीकरण र बैदेशिक रोजगारीको आकर्षणले गर्दा यो पारम्परिक पेशा बिस्तारै हराउदै गइ रहेको छ |
 
 
 
 
 
लेखकको अनुरोध:
 
माथिका लेखहरु मेरो व्यक्तिगत खोज तलास र बुढापाकाहरुको भनाइको आधारमा लेखेको हुँ, यदि यस बारेमा तपाईहरुलाई थप जानकारी भएमा कृपया लेखेर पठाई सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु |
 
बीर
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar