|
पुन समाज नेपाल केन्द्रिय समितीको आयोजनामा पोखरामा हुँदै गरेको बिशेष पैतालिस दिने खाम भाषा प्रशिक्षण अतिनै सफलता पुर्वक २०६७ साल असोज १५ गते सम्पन्न भयो । यो ४५ दिने खाम भाषा प्रशिक्षण २०६७ साल भदौ महिनाको १ गते देखि नदीपुरस्थित कर्पाकेली भवनमा सन्चालन भएको थियो र असोज महिनाको १५ गतेको दिनमा पुन समाज नेपालका केन्द्रिय अध्यक्ष क्याप्टेन श्री केशर पुर्जा पुनको अध्यक्षता र केन्द्रिय सल्लाहकार श्री मनवीर गर्वुजा पुनको प्रमुख आतिथ्यमा समापन गरिएको थियो ।
यो प्रशिक्षणको समयमा सबै प्रशिक्षार्थीहरुले देखाएको कोशिस, लगनशिलता र प्रगतीहरु देख्दा हामीहरु आफ्नो भाषा प्रति कतिको माया-मोह गर्दा रहेछौ भनि सबैलाई गर्वको अनुभूति भएको छ | पुन समाज केन्द्रिय समितीको कार्यकर्ताहरुमा पनि प्रशिक्षार्थीहरुको लगन, कोशिस देखेर अति नै उत्साह जागेको देखिन्छ र यस्तो प्रकारको कार्यक्रमहरुको थालनी अब बिस्तारै अरु गाउँ- ठाउँ र शहरहरु तिर पनि आर्थिक अवस्थाले साथ दिएमा गर्दै लैजाने बिचार गर्नु भएको छ । प्रशिक्षार्थीहरुको जाँच असोज १२ गतेको दिनमा भएको थियो र सम्पूर्ण प्रशिक्षार्थीहरु धेरै राम्रो अंक सहित परिक्षामा उत्तिर्ण हुनु भएको थियो । असोज १३ गतेको दिन समितीको कार्यकर्ताहरुको तर्फबाट उहाँहरुलाई पुनहरुको भाषा, संस्कृति र संस्कारको बारेमा पनि जानकारी दिईएको थियो । असोज १४ गतेको दिन पोखरा पुन युवा क्लबको सहयोग अनी सौजन्यतामा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पोखराको विभिन्न रमाइला ठाउँहरु जस्तै: ब्रिटिश गोर्खा सङ्राहलय, शिव मन्दिर, अन्तरराष्ट्रिय पर्वतारोही संग्राहलय, कूल देवता थान, मनकामना स्कुल, मनिपाल अस्पताल आदि ठाउँहरुको भ्रमण गराईएको थियो |
यस प्रशिक्षणमा पश्चिम चितवनकी मिनाक्षी पाइजा पुन प्रथम, दुलेगौंडा तनहूँकी भुमा पाइजा पुन द्वितीय, काफलडाडा गाउँ म्याग्दीकी चन्द्रकुमारी पाइजा पुन तृतीय, ढुङे पाटन कास्कीकी कमला पुर्जा पुन चौथो र पश्चिम चितवनकी रुपा गर्वुजा पुन पाँचौ हुदै पुरस्कृत भएका थिए | पुन समाज नेपालका भाषा विभागका सदस्य श्री तुलवीर पुर्जा ज्युले प्रशिक्षणमा प्रथम हुने मिनाक्षी पाइजालाई नगद रु. एक हजार पाँच सय, द्वितीय हुने भुमा पाइजालाइ रु. एक हजार तथा तेश्रो हुने चन्द्रकुमारी पाइजा, चौथो हुने कमला पुर्जा र पाँचौ हुने रुपा गर्बुजालाइ जनही रु. पाँच पाँच सय नगद, प्रमाण पत्र र उपहारहरुबाट पुरस्कृत गर्नु भयो । नगद पुरस्कारको व्यवस्था चाँही युकेमा रहनु भएका भोबी पुर्जाले गर्नुभएको थियो। यस समापन कार्यक्रममा कान्छो प्रशिक्षार्थी कास्कीका अठार वर्षीय भविन पाइजा पुन र जेष्ठ सदस्य कास्की कै साठी वर्षीय केशर पुनलाई पनि सम्मानित गरिएको थियो। साथै सबै प्रशिक्षार्थीहरुलाई खाम भाषा सम्बन्धी एउटा शब्दाकोश पनि प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा महासचिव खिमन पुन, केन्द्रिय कोषाध्यक्ष हर्कबहादुर पहरे पुन, केन्द्रिय सदस्य एवं भाषा विभाग सदस्य तुलवीर पुर्जा पुन, मेजर चन्द्रबहादुर पहरे पुन, प्रशिक्षक युवराज घर्ती, लेफ्टिनेन्ट खाका पुन, प्रशिक्षार्थीहरु कृष्ण चोचाङगी पुन, जनीमाया गर्वुजा पुन, यमकुमार गर्वुजा पुन, मिनाक्षी पाइजा पुन, भुमा पाइजा पुन, चन्द्रकुमारी पाइजा पुनलगायतले मातृभाषाको महत्वका बारेमा आफ्ना मन्तव्य व्यक्त गर्नु भएको थियो।
प्रशिक्षणमा कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहूँ, चितवन, नवलपरासी, रुपन्देही जिल्लाका सत्ताइस प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । यसरी यो प्रशिक्षण सफलता पुर्वक सम्पन्न भए पछि १६ गते प्रशिक्षार्थीहरु आ-आफ्नो गाउँ-ठाउँ तिर केहि नौलो अनुभूति र कोशेली बोकी फर्किनु भयो ।
सौजन्य: पुन समाचार
|