Govt Regtd No. DAOK/2066/143
 
चितवनमा खाम भाषा तालिम  
 सौजन्य: पुन समाचार 
 
नेपालको मध्यमाञ्चल क्षेत्रमा, हामी पुन मगर हरुको बाहुल्यता रहेको ठाउँहरु बिशेषत म्याग्दी, बाग्लुङ, पर्वत, प्युठान जिल्ला हरु पर्छन । अनी
यो जिल्ला हरुमा हामीहरुको  पुर्वजहरु बसाई - सराईको क्रममा नेपालको पश्चिमी भेगको रुकुम - रोल्पा जिल्ला तिरबाट आएका हुन । मुख्यत हामी मगरहरु बारह पन्थी र अठारह पन्थीहरुमा पर्दछौं, जस्लाई अहिले आएर बारह मगरात र अठारह मगरात भन्ने गरिन्छ । अनी हामी मगरहरुले बोल्ने मुख्यत तीन प्रकारको मगर भाषाहरु छन, जस मध्य अहिले यो बारह मगरातहरुमा पर्ने चाँहीले मगर ढुट भाषा बोल्दछन, जुन चाँही थापा, राना, आले मगरहरुले बोल्ने गर्छन्, यो क्षेत्रमा चाँही गुल्मी, पाल्पा, स्याङ्जा, तनहुँ  जिल्लाहरु पर्छन । अनी यिनीहरु मुख्यत तल्लो पहाडी क्षेत्रमा बसोबास गर्दछन, अनी अठारह मगरातमा बोलिने मगर भाषाहरुमा अर्को मगर भाषा चाँही काईके मगर हो जुन चाँही अती उच्च हिमाली भेगमा बस्ने मगरहरुले बोल्ने गर्दछन, जस्तै यो क्षेत्रमा चाँही डोल्पा जिल्लामा पर्दछ, अनी तेश्रो थरीको भाषा चाँही खाम मगर भाषा हो, जुन चाँही मध्य पहाडी भेगमा बोलिन्छ, अनी यो क्षेत्र चाँही रुकुम, रोल्पा, प्युठान र बाग्लुंग जिल्लाहरुमा पर्छन ।  हामी पुन मगरहरुको मुख्यत भाषा चाँही यो क्षेत्रमा बोलिने खाम मगर भाषानै हो, जुन अहिलेको पुस्ताहरुले खोज गरेर किटानी गर्नु भएकोछ । अनी गएको बर्षमा म्याग्दी जिल्लाको औलो गाउमा, पुन मगरहरुको ठुलो भेला भएको बेलामा पनि यो बिषयमा पनि छल्-फल भएको थियो र सर्वसहमतीबाट हामी पुन मगरहरुको भाषा खाम भाषा नै हो भनी पारीत गरिएको थियो र यो भाषाको बिकास पनि गर्दै लैजानु पर्छ भनिएको थियो ।

तपाईंहरु सबैलाई थाहा भएको कुरा हो कि, अहिले हामी नेपालको मध्यमाञ्चल क्षेत्रमा बस्ने पुन मगरहरुलाइ आफ्नो मगर भाषा बोल्न आउँदैन | यदी कसैले, तिमीहरु मगर भएर पनि किन मगर भाषा बोल्न नआएको भनी सोध्यो भने, त्यस्को जवाब दिनलाई, केही समय सोचेर जवाब दिनु पर्ने स्थिती आउछ । अहिले आएर हामी गर्वको साथमा भन्न सक्छौं कि, हाम्रो भाषा पनि छ, जस्लाई खाम भाषा भनिन्छ । तर कालन्तरमा तत्कालिन शाशकहरुले यो भाषा बोल्नुमा रोक लगाएकोले वा बसाई सराइको क्रममा अर्को ठाउँमा गएर त्यहाँको भाषा अंगाल्ने (जुन एउटा नेचुरल प्रक्रिया हो) गर्दा खेरी हामी मध्य्मान्चल क्षेत्रमा बसोबास गर्ने पुन मगरहरुले बिस्तारै - बिस्तारै गरेर यो आफ्नो भाषालाई पूर्णरुपले बिर्सन पुग्यौ र अहिले हामी मगर भएर पनि भाषा बिनाको मगर जस्तै भएका छौं । अरुहरुले जे भने पनि मलाई एउटा कुरामा खुशी लाग्छ, अनी गर्व पनि लाग्छ कि हामी पुन मगरहरुले आफ्नो भाषा बोल्न नसके पनि हामीहरुको बोलाईमा एउटा छुट्टै प्रकारको आफ्नै मौलिकता, आत्मियता र मिठास पनि छ, जुन अरु जातिहरु सित मिल्दैन, जस्ले गर्दा खेरी हामी पुन मगरहरुले आफ्नो खाम भाषा बोल्न नसके पनि कुनै नचिनेको पुन मगरलाई कतै भेट्यो भने र उस्को बोली सुन्यो भने त्यो व्यक्ती पुन मगर रहेछ भनेर हामी पुन मगरहरुले सजिलै चिन्न सक्छौं ।

यो हामीहरुको खाम भाषा लाई हालैमा भाषाको जानकारहरुले खाम मगर नभनेर पाङ मगर भाषा भन्ने गरिएको छ । तर जे भए पनि पहिले देखी नै खाम मगर भन्ने चलन भएकोले गर्दा खेरी हामीले हाम्रो भाषा खाम भाषा नै हो भन्नु पर्छ । हुनु त् छन्त्याल जातीहरुले पनि आफ्नो बोल्ने भाषालाई खाम नै भन्छन तर उनीहरुको र हामी पुन मगरहरुको खाम भाषामा धेरै नै भिन्नता छ । 

बिगतमा पनि हामी पुन मगरहरु लाई थाहा भएको कुरा नै हो कि हामीहरुको भाषा खाम हो भनेर, जुन हामीलाइ बोल्न आउँदैन । अनि पछी आएर बारह मगरातहरुले बोल्ने ढुट मगर भाषा लाई कतिपय जिल्लाहरुमा सिकाउने तालिम हुँदा खेरी त्यस समयमा पनि कतिपय पुन मगरहरुले त्यस तालिममा सहभागी भएर हाल स्पष्ट रुपमा, राम्रो सित ढुट मगर भाषा बोल्न मात्रै हैन कि राम्रो सित अक्खा लिपीमा पनि लेख्न सक्नु हुन्छ, यो अक्खा लिपी चाँही मगरहरुको लिपी हो । जुन बारह मगरातको धेरै जसो अहिलेको युवा पुस्ताहरुलाई पनि लेख्नन आउँदैन ।

कतै यो आधुनीक २१शौ शताब्दीमा हामी पुन मगरहरुको खाम भाषा पूर्णरुपले लोप भएर जाने त हैन ? जुन हाम्रो पहिचान, ईतिहास र हाम्रो एउटा अमुल्य गहना पनि हो । यो कुरालाई कसरी युगौ युग सम्म जोगाएर राख्न सकिन्छ ? आफ्नो आउने नयाँ पुस्ताहरुलाई कसरी यो भाषा हस्तान्तरण गर्दै लैजाने ? अनि पुन मगरहरुमा आफ्नो बिर्सेंएको खाम भाषालाई कसरी बिकास गर्दै लैजाने भनेर, सर्वप्रथम पुन मगर उत्थान समाज, चितवन जिल्लाको अध्यक्ष क्याप्टन तुलबिर पुर्जा मगर ज्युले, सूर्यनगर - चितवन जिल्लामा, आफ्नो सहयोगी हरुको साथमा निकै नै दौड-धुप गरे पछी, रोल्पा जिल्ला बाट एउटा प्रशिक्षक झिकाउनु भयो ।

यसरी सर्वप्रथम खाम भाषा प्रशिक्षण, चितवन जिल्लाको सूर्यनगर गाउँको करवाकेली बिकास भवन मा २०६५ साल-साउन-२२ गते देखी शुरु गरि २०६५ भदौ २० गते सफलता पुर्वक सम्पन्न गरियो । यो एक महिने तालिममा महिलाहरुको सहभागीता पुरुषहरुको तुलनामा निक्कै नै थियो, किन भने नेपालमा महिलाहरु चाँही आफ्नो बाल्-बच्चा र परिवार सित धेरै नै घुलमिल हुने भएकोले, यो भाषा सिके पछी उनीहरुले आफ्नो परिवारमा पनि खाम भाषाको व्यवहारिक प्रयोग गरेर यो भाषालाई बिकास गर्दै लैजानमा धेरै नै मदद पुग्छ | पहिलो पल्टको खाम भाषा तालिम भएको हुनाले यो समयमा कुनै प्रकारको पाठय पुस्तकहरु थिएनन । तर हालमा सूर्यनगरले एउटा पाठय पुस्तक प्रकाशित गरेकोछ ।

अहिले आएर यो खाम मगर भाषा प्रशिक्षण, चितवन जिल्लाको भरतपुरमा पनि पुर्व चितवन र भरतपुर नगरपालिकाको लागि २०६५ साल-पुष-०२ गते शुरु गरि सफलता पुर्वक २०६५ साल-माघ-०२ गते सम्पन्न गरियो । त्यसै क्रममा कउसोदीको माडी गाउँमा पनि २०६५ साल-माघ-०५ गते बाट शुरु गरेर २०६५ साल-फागुन-०५ गते एकदमै राम्रो प्रकारले सम्पन्न गरिएको छ । अहिले भएको तालिम चाँही पहिलो चरणको एक महिने तालिम थियो, यो तालिममा आशा गरेको भन्दा पनि निकै नै राम्रो प्रकारले प्रशिक्षार्थीहरुले सिक्नु भयो । दोश्रो चरणका तालिमहरु पनि छिट्टै नै हुनेछन । अहिले चितवन जिल्लामा खाम भाषाको तालिम हुँदै गरेकोले गर्दा खेरी अरु जिल्लाहरुबाट पनि पुन मगरहरुले निकै नै चासो देखाउनु भएको छ, जुन एउटा खुशीको कुरा हो । पोखरा र बुटवलबाट पनि यो बिषयमा सोध्-पुछ भई रहेको छ । स्मरण रहोस कि यो खाम भाषा तालिमको लागि प्रशिक्षक रोल्पा जिल्लाबाट नै आउनु हुन्छ । सर्वप्रथम सूर्यनगरमा प्रशिक्षकको रुपमा रोल्पा जिल्लाको, मिरुल गा बि  स, वडा ३, शिबरी गाउँबाट श्री शिवराज रोकामगर आउनु भएको थियो ।

यो प्रशिक्षणको भिडियोमा चितवन जिल्लाको पुन मगर उत्थान समाजको अध्यक्ष क्याप्टन तुलबिर पुर्जा मगर र सूर्यनगरको पुन मगर उत्थान समाजको अध्यक्ष श्री दलजित पुर्जा मगरज्युले यो खाम भाषा तालिमको बारेमा केही कुराहरु बोल्नु भएको छ । उक्त भिडियोको लागि यहाँ क्लिक गर्नुहोस |

 
खाम भाषा प्रशिक्षणमा सहभागी शिक्षक र प्रशिक्षार्थीहरुको सामुहिक तस्विर 
 
 
खाम भाषा पाठ्यपुस्तक सम्बन्धि सानो जानकारी:
 
यो खाम भाषा तालिमको लागी कुनै पाठ्यपुस्तक नभएको हुनाले, पश्चिम चितवन, सूर्यनगरका पुन मगरहरुको सक्रियतामा, उहाँहरुले एउटा खाम भाषा सिकाउने पाठ्यपुस्तक तयार पारी सक्नु भएको छ र अहिले त्यस पाठ्यपुस्तकको विमोचन हुनु मात्रै बाँकी छ । जस्को पहिलो संसकरणमा त्यो पाठ्यपुस्तकको ३,००० प्रति निकालिने छ । अनी यो पाठ्यपुस्तकलाई तयार पार्नमा बिशेष गरेर रुकुम जिल्ला, तक-सेरा गा बि स का श्री राम प्रसाद घर्ती मगर ज्यु ले सघाउनु भएको छ भने रुकुम जिल्ला कै श्री कर्ण बहादुर बुढा मगर ज्यु ले पनि केही सहयोग गर्नु भएको छ । त्यसै गरेर अठार मगरात मगर भाषा संस्कृति विकाश प्रतिष्ठानको तर्फबाट, रोल्पा जिल्लाको, कोर्चवाङ गाउँकी बम कुमारी बुढा मगर ज्यु ले पनि अमुल्य सर्-सल्लाह अनी सुझावहरु दिनु भई सहयोग गर्नु भएको छ । यो पाठ्य पुस्तक तयार पार्न र प्रकाशन गर्नको लागी आर्थिक सहयोग स्वरूप म्याग्दी जिल्ला, हिस्तान गा बि स का श्री हर्क बहादुर पहरे पुन ज्यु ले स्वेच्छाले नेपाली रु १,५०,००० (रु एक लाख, पचास हजार) उप्लब्ध गराउनु भएको छ, उहाँ चाँही अहिले पोखरामा बसोबास गर्नु हुन्छ | यसमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ साथै आशा गर्दछौं  कि यो पाठ्यपुस्तकले हामीहरुको लोप हुन लागेको खाम भाषाको प्रचार - प्रसारमा अबश्य पनि सहयोग गर्ने छ, साथै सम्पूर्ण खाम भाषा प्रेमीहरुलाई यस पुस्तिकाले केही सिक्न अबश्य मदत गर्ने छ | अहिले सम्म चितवन जिल्लामा पूर्व चितवन, भरतपुर नगरपालीका र पश्चिम चितवनमा गरेर जम्मा तीन ठाँउमा खाम भाषाको तालिम सन्चालन भई सकेको छ । अब यो पुस्तिकाको विमोचन गरिए पछि, अन्य ठाँउहरुमा पनि खाम भाषाको तालिम सन्चालन गरिने छ ।  
 
 सौजन्य: पुन समाचार
 
 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar