|
|
|
संस्कृति र परम्परा |
|
|
|
भूमे पर्ब
भूमे पर्ब १८ मगरातको खाम क्षेत्रमा मनाइने सबै भन्दा ठुलो र प्रमुख पर्ब हो | यो पर्ब असार संक्रान्तिमा सबै गाउँलेहरु करिब १ हप्ता सम्मै संगै नाँचेर मनाउँदछन् | तर यो नाँचको तयारी भने करिब आधि महिना पहिले देखि नै शुरु हुन्छ | हरेक बेलुकी (राती) गाउँको चौतारामा युवा युवतीहरु जम्मा भइ नाँचेर यस पर्वको तयारी गर्दछन |
भूमे पूजालाइ कसै कसैले (बिशेष गरेर नेपाली भाषीहरुले) बलपूजा भनेर पनि भन्ने गर्दछन, तर अधिकांश खाम क्षेत्रमा यसलाई भूमे नै भनेर चिनिन्छ | भूमे भन्ने शब्द भूमी अर्थात् जमिनबाट अपभ्रम्सित भएर आएको हो | खाम क्षेत्रका मगरहरु कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन | भूमी बराहा, सिद्ध बराहा आदिको पूजा गर्नु यसका उदाहरणहरु हुन् | यसै क्रममा हरेक बर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले खाम मगरहरुले बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरि करिब हप्ता दिनसम्म नाँचेर धुमधामसंग मनाउँदछन् र त्यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यसकारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् |
लुगुमको भूमे पर्ब र पूजाको भने आफ्नै बिशेषता र कथा छ | किम्बदन्ती अनुसार पहिले गाउँबाट गाउँ नजिकको खोलामा पनि भर्न जाने क्रममा (जुन चलन २०४१/४२ सालमा कादूरी प्रोजेक्टले गाउँमा खानेपानीको धारा लगाईदिंदा सम्म कायमै थियो) हरेक दिन बेलुकी पख पानी भर्न जाने एउटा आइमाई हराउन थाले पछी गाउँलेहरु होइन कहाँ हराउदो रहेछ वा केले खाँदो रहेछ भनेर गाउँ देखि खोलासम्मको बाटोमा ठाउँ ठाउँमा चियो लागेर बसेछन | त्यसरी चियो बसेर हेर्ने क्रममा एकदिन बेलुकी पख एउटा आइमाई पानीको गाग्री बोकेर मादैको उकालोमा (अहिलेको झाँक्री मेला लाग्ने ठाउँमा) आइ पुग्दा त्यहाँ भएको ठुलो ढुंगाको कापबाट एउटा अजंगको सर्प जस्तो जन्तु निस्केर ति आइमाईलाइ च्याप्प समातेर क्वाप्प खाएको देखे पछी ति चियो बसेर देख्ने मानिसले गाउँमा गएर सबैलाई उक्त कुरा बताएछन् | त्यसपछि त्यस जन्तुलाई कसरी तह लगाउने भनेर गाउँलेहरुको सल्लाह हुँदा गाउँको एउटा निक्कै शुरो र बलियो कामीले एउटा ठुलो सनासो बनाई त्यस जन्तुलाई मान्छे खानेबेलामा घाँटीमा समातेर मार्ने भन्ने जुक्ति निकालेछन | त्यही मुताबिक ति कामीले अन्य कामीहरुको सहयोगमा एउटा ठुलो सनासो बनाइसके पछी एकदिन दिउसो सबेरै त्यो ठुलो ढुंगाको पछाडी लुकेर बसेछन | जब बेलुकी पख पानी भरेर फर्कदै गरेका एउटा आइमाईलाइ त्यो अजंगको जन्तुले ढुंगाको कापबाट निस्केर मुखले च्याप्प समातेर खान थाल्यो त्यसै बेला ति ढुंगाको पछाडी लुकेर बसेका कामीले ढुंगा पछाडीबाट फुत्त निस्केर आइ त्यस जन्तुको घाँटीमा उक्त ठुलो सनासोले च्याप्प समातेर छोड्दै छोडेनछन् | त्यसपछि छेउछाउँमा लुकेर बसेका अन्य गाउँलेहरु पनि निस्केर उक्त कामीलाई सघाएछन | यसरी सबैले मिलेर सनासोले घाँटीमा समातेर छोड्दै नछोडे पछी उक्त भयानक सर्प जस्तो जन्तुको केहि लागेनछ र गाउँलेहरुले त्यसलाई तँ को होस् यसरी हाम्रो पानी भरेर आउने मानिसलाई खाने भनेर सोध्दा उसले म भूमी देउता हुँ भनेछ | अब भूमी देउता भने पछी त्यसलाई मार्न सक्ने कुरो पनि आएन तर छोड्न सक्ने कुरा पनि नआएपछि त्यसलाई त्यतिकै पालै पालो समातेर छोडेनछन् | त्यसरी नछोडे पछी त्यस भूमी देउताले अन्तमा हार खाएर भयो बरु तिमीहरुले भनेको मान्छु मलाई छोडीदेउ भनेछन | त्यसपछि गाउँलेहरुले अबदेखि गाउँको कसैलाई पनि नखाने र गाउँलाइ कुनै पनि दुख नदिने भए मात्र छोडी दिने शर्त राखेछन | त्यसपछि त्यस भूमी देउताले आफुले उनीहरुको शर्त मान्ने तर हरेक बर्ष असार संक्रान्तिमा बुकीबाट चोखो पानी र फूल ल्याई आफुलाई एउटा भेडाको बलि दिएर पुज्नु पर्ने माग गरेछन | भूमी देउताको उक्त मागलाई गाउँलेहरुले सहर्ष स्वीकारेछन् र उक्त भूमी देउतालाई उप्रान्त कुनै मानिस नखाने र गाउँलेहरुलाई कुनै दुख नदिने बाचा बन्धन गराई छाडी दिएछन् | त्यसैबेला देखि हरेक असार संक्रान्तिमा भूमी देउताको पूजा गरी एउटा साँढे भेडाको भोग दिने चलन छ | त्यसरी भूमी देउता माथि बिजय प्राप्त गरी उनले दिने गरेको दुखबाट मुक्ति पाएको उपलक्ष्यमा गाउँले हरु हप्ता दिनसम्म नाँचेर खुशियाली मनाउने चलन चलेको हो भनिन्छ | साथै उक्त भूमी देउतालाई समाउने साहस गरेका कारणले उक्त भूमी देउताको पूजा गर्ने शौभाग्य पनि गाउँलेहरुले उनै कामीलाई दिएछन् | उनि पश्चात उनका सन्तानहरुले उक्त पूजारीको काम गर्ने अविभारा पाएकाले अझै सम्म पनि लुगुमको भूमे पूजामा पूजारीको काम कामीहरुले नै गर्छन | यसरि पूजारी बस्ने कामीले हप्ता दिन देखि जाँड रक्सि, मासु माछा र नुन तेल समेत नखाई चोखो बस्नु पर्छ | साथै उनको परिवारमा कुनै प्रकारको जुठो नपरेको हुनु पर्छ | यदि उक्त पूजारी चुनिएको व्यक्तिले आफ्नो मर्यादा पुरा गरेन वा उसको घरमा जुठो परेको रहेछ भूमी देउता रिसाएर उक्त पुजारीलाई जिउ धनको खति हुने गरि पिर्छन भन्ने भनाइ छ र भूमी देउता रिसाएको खण्डमा संक्रान्तिको बेला पुजारीको घरमा सर्पहरु देखिने कुरा अहिले पनि यथावत नै छ भनिन्छ | यसरि दलित जातिले पूजारी जस्तो ठुलो काम गर्ने चलन सायद अन्य कुनै ठाउँमा छैन होला र यो पनि लुगुम गाउँमा भएको एउटा अनौठो बिशेषता हो |
भूमे पर्वमा गाउँका युवा युवतीहरु फूल टिप्न र बुकिको चोखो पानी लिनलाई जेठ मसान्तको अघिल्लो दिन "नोगो पो" भन्ने ठाउँमा जान्छन र त्यहाँबाट बुकी फूल र चोखो पानी लिएर जेठ मसान्तको बेलुकी गाउँको नाँची भन्ने ठाउँमा आएर बस्छन | यसरी पूजाको लागि बुकी फूल र चोखो पानी लिन जाने युवा युवतीहरुको समुहलाई "नोगोबाङ्गे" भनेर भनिन्छ | यसरी बुकिको फूल र चोखो पानी लिएर आउने नोगोबाङ्गे टोलीलाई नाँचीमा आइपुग्दा गाउँका पंच भलादमीहरुले खाजा र रक्सीका साथ स्वागत गर्छन साथै गाउँको तर्फबाट भोज खानलाई एउटा भेडा उपहार पनि दिने चलन छ |
भोलि पल्ट असार संक्रान्तिको दिनमा गाउँले व्यवस्था गरेको एउटा साँढे भेडालाइ ति कामी पुजारीले "जारी खोला" मा लगेर धोएर चोखो बनाई "मादै" मा ल्याएर धुप दिई मन्छाउने काम गरिन्छ | त्यसपछि उक्त भेडालाइ गाजाबाजा सहित गाउँको बीचबाट दौडाएर "छाला घा" मा पुर्याई काटिन्छ | भेडा काट्ने पूजारी भने हरेक बर्ष गाउँका जैसीहरुले पात्रो हेरी गाउँका एकजना मगरलाइ खटाउँछन | पहिले पहिले सबैले भेडा पाल्ने चलन थियो र हरेक बर्ष भूमे पूजाको लागि एउटा साँढे भेडा एउटा परिवारले आफ्नो पालोमा दिनु पर्दथ्यो तर अहिले भेडा पाल्ने चलन प्राय लोप भइ सकेकोले गाउँको कोषबाटै एउटा भेडा किनेर पूजा गर्ने व्यवस्था छ |
|
|
|
|
झाँक्री मेला
लुगुम गाउँमा लाग्ने झाँक्री मेला यस क्षेत्रमा मनाईने एकमात्रै बिशेष मेला हो र जसको आफ्नै मौलिकता र बिशेषता छ | यो मेला साउन महिनाको संक्रान्ति पछिको पहिलो बोक्सी बार अनुसार आइतबार, सोमबार, मंगलबार र शनिबार जुन पहिला पर्छ त्यही दिन गरिन्छ | यस मेलामा हरेक थरबाट एक एक जना झाँक्रीले भाग लिने हुनाले लुगुम गाउँमा कति थरहरु रहेछन भनेर झाँक्री मेलामा सहभागी हुने झाँक्रीहरुको संख्याले पनि मोटामोटी अनुमान लगाउन सकिन्छ | यदि कुनै थरमा झाँक्री नै छैनन भने चाँही त्यो थरका मानिसहरुले पंचलाइ एउटा निश्चित तोकिएको रकम तिर्नु पर्छ | साथै यदि झाँक्री हुँदा हुँदै पनि दुख बिरामी बाहेक बिना कारण कुनै थरबाट झाँक्रीको उपस्थिति भएन भने त्यो थरलाई दण्ड स्वरूप झाँक्री नभएका थरले तिर्ने भन्दा बढी रकम जरिवाना गरिन्छ | साथै झाँक्री मेलामा भाग लिने हरेक झाँक्रीहरुलाई पंच कोषबाट किनेर एक एक वटा चल्ला पूजा गर्नको लागि दिइन्छ | झाँक्री मेलामा जानु भन्दा पहिले सबै झाँक्रीहरु गाउँको चौतारामा भेला हुन्छन र मेलाको समाप्ति पछी पनि त्यही चौताराबाटै बिदा हुन्छन | यसरी चौताराबाट बिदा भइ सके पछी थरको बन्दोबस्तमा त्यो थरको कुनै एउटा घरमा गइ निज झाँक्रीलाई सत्कार गरि त्यहाँबाट पनि बिदा गरिन्छ र परापूर्ब कालदेखि चलेको चलन अनुसार उक्त झाँक्री त्यही राती नै आफ्नो घर पुग्नु पर्ने हुन्छ | जुन कुरा बिशेष गरेर पन्चासे, रुजिखोला, रुपुगा जस्ता गाउँबाट मेलामा सहभागी हुन् आउने झाँक्रीहरुलाई निकै कस्टकर हुन्छ | झाँक्री मेलाको भोलि पल्ट गाउँमा युवा युबतीहरु बीच हिलो छ्यापाछ्याप र दलादल गरेर रमाइलो गर्ने चलन पनि छ | यो हिलो खेल्ने चलन किन र कसरी चल्यो भन्ने कुराको चाँही कुनै ठोस कारण र आधार भेटिदैन |
यस्तो खाले बिशेष झाँक्री मेला लुगुममा मात्रै लाग्ने भएकोले गर्दा टाडा टाडा गाउँहरुबाट पनि मानिसहरु मेला हेर्न आउँदछन् | यस मेलामा सिस्नोले बेसरी हानाहान गर्ने चलन भएकोले यस मेलालाई कसै कसैले ठट्टा गरेर "ङ्इति राम" (सिस्नो मेला) पनि भन्दछन | यस अबसरमा सिस्नोले हानेमा शरीरमा भएका रोगब्याधीहरु (बिशेष गरेर छाला सम्बन्धि) हराउछन भन्ने बिश्वास गरिन्छ | यसमा याद राख्नु पर्ने कुरा के छ सिस्नो आयुर्वेदिक उपचारमा निकै उपयोगी भएको कुरा सिद्ध भइ सकेको छ र यसको प्रयोगले विभिन्न कुरामा स्वास्थको लागि लाभदायक भएको बैज्ञानिक पुस्टि पनि भइ सकेको छ | त्यसकारण परापूर्ब कालदेखि नै लुगुम्यालहरुले यसको बैज्ञानिक प्रयोजन र सिद्धता नबुझेता पनि सिस्नो शरीरको लागि लाभदायी भएको कुरा केहि हद सम्म बुझेको पुस्टि हुन्छ |
यो झाँक्री मेलामा सहभागी भएमा सहभागी हुने झाँक्रीको सबै ग्रहदशा यसै झाँक्री मेलामा गरिने बिधि विधानमा काटिने भएको हुनाले यो मेलामा सहभागी हुने झाँक्रीहरुले हरेक तिया बर्षमा गर्नु पर्ने इस्ट देउताको पूजा जसलाई "पुम्सिने" भनिन्छ त्यो कार्य गर्नु पर्ने आबश्यकता नहुने भएकोले यसमा भाग लिने झाँक्रीहरुलाई केहि फाइदा पनि छ | यस मेलामा उमेरको हिसाबले नभई झाँक्री भएको हिसाबले सहभागी हुने सबै भन्दा कान्छो झाँक्रीहरुले आफु भन्दा जेठो सबै झाँक्रीहरुलाई ग्रहदशाबाट उकास्ने काम गर्छन | साथै झाँक्रीहरु बस्दाखेरी उमेरको हिसाबले नभई झाँक्री बनेको हिसाबले आफु भन्दा जेठो झाँक्रीलाई गुरुबा भन्छन र त्यही रोलक्रम अनुसार आसन ग्रहण पनि गर्दछन | यस झाँक्री मेलामा भेला भएका झाँक्री मध्ये एकजना झाँक्रीलाई पहिले नै बोक्सी लखेट्ने कामको लागि छानिएको हुन्छ | मेला शुरु भए पछी झाँक्रीहरुले "मादै" देखि गाउँजाने दोबाटो "कोलोलो" सम्म नौ पटक नाँचेर ओहोर दोहोर गर्छन | यो काम सकिए पछी सबै झाँक्रीहरु "जारी खोला" मा जान्छन र त्यहाँबाट बोक्सी लखेट्ने खटिएको झाँक्रीले बोक्सी निकाले पछी उनि उक्त बोक्सीलाई लखेट्दै गाउँ कटाउँदै "झोल्यानी बिसाउना" कटाएर पठाउँछन भने बाँकि सबै झाँक्रीहरु गाउँमा पस्छन र जुन घरमा अलिक ग्रहदशा लागेको देख्छन त्यहाँ पसेर त्यस घरका मानिसलाई ग्रहदशाबाट उकास्ने काम गरि यो दिन गाउँलेहरुको सेवा गर्ने काम गर्दछन | यस कार्यमा सबै झाँक्रीहरु एकै घरमा धेरै पटक जान सक्ने सम्भावना भएकोले गर्दा झाँक्रीहरुको आपसी सल्लाह अनुसार प्राय गरेर आफ्ना थरका घरमा मात्रै पस्दछन वा यदि कसैले पहिले नै अनुरोध गरेको छ भने तिनीहरुको घरमा पनि पस्दछन |
यो परम्पराको शुरुवात कसरी भयो भन्ने पनि एउटा रोचक किम्बदन्ती छ | धेरै बर्ष पहिले गाउँमा अहिलेका भन्दा धेरै बोक्सीहरु हुने गर्दथे रे | (जुन कुरा सत्य पनि हो किनकि अहिले आधुनिकीकरणले गर्दा धेरै जसो पुराना सोचाई र बिश्वासहरु हराउदै गएका छन्) त्यतिबेला एउटी बोक्सिनी असाध्यै खतरनाक र लाग्ने खालकी थिई रे | त्यसले गाउँको धेरै मानिसहरुलाई खाने र धेरै दुख दिने गरे पछी गाउँकै एउटा ठुलो झाँक्रीले यो त साह्रै भएन भनेर त्यस बोक्सिनिलाई तन्त्र मन्त्रको बलमा झुक्काएर "तोपाएछन्" (तोपाउनु भनेको कुनै बस्तुलाई जिउंदै माटाको घैटोमा हालेर गाड्नुलाइ भनिन्छ) | त्यसरी तोपाउने बेलामा उक्त बोक्सिनिले मलाई यसरी झुक्काएर तोपाउदा तिमीलाई मेरो आत्माको पाप लाग्नेछ भने पछी ति झाँक्रीले त्यसको लागि म तिमीलाई हरेक बर्ष साउने संक्रान्तिको पहिलो बोक्सीबारका दिन नाँचगान गरि तिम्रो आत्मालाई शान्त पारीदिनेछु भनि फकाएछन् | त्यसपछि उक्त बोक्सिनीले झाँक्रीको उक्त कुरा मानेछिन तर त्यो दिन उसले गाउँको एउटा मान्छेको भोग खाने शर्त राखेछिन | त्यसमा झाँक्रीले पनि यसरी हरेक दिन दुख दिएर थुप्रै मानिस खानु भन्दा त बर्ष दिनमा एउटा जाबो मानिस खाए पनि खाओस भनेर बाचाबन्धन गरि उक्त बोक्सिनीलाई तोपाएछन् | त्यही दिन देखि हरेक बर्ष साउने संक्रान्तिको पहिलो बोक्सीबारका दिन उक्त बोक्सिनीको आत्मालाई शान्त पार्न झाँक्री मेला गरिएको हो रे | साथै झाँक्री र बोक्सीको पहिलेको शर्त र बाचा अनुसार उक्त बोक्सी आत्मालाई लखेट्दा गाउँबाट भएर जाने क्रममा उक्त बोक्सीको आत्माले गाउँको एउटा मानिसको आत्मालाई टिपेर लान्छ रे अनि केहि समय पश्चात त्यो व्यक्तिको मृत्यु हुन्छ भन्ने भनाइ छ | त्यो कुरा झाँक्रीहरुले कसको आत्मालाई टिपेर लग्यो त भन्दैनन् तर कुन डेराकोलाई लग्यो भन्ने सम्म चाँही भन्दछन | केहि समय पछी त्यो डेराको कुनै मानिसको मृत्यु हुँदा त्यसलाई लगेको रहेछ भनेर थाहा पाउँदछन् | यस दिनलाई लुगुम्यालहरुले बोक्सी लखेट्ने दिनका रुपमा पनि चिन्दछन |
|
|
|
|
देवी देउता तथा पूजाहरु
लुगुम्यालहरुले बिशेष गरेर आफ्ना कुल देवता, पुर्खाहरु र प्रकृतिलाइ पूजा गर्दछन् | कुल देवताहरुमा बराहा, सिद्ध बराहा, भीमसेन आदि पर्दछन भने प्रकृति सम्बधित देवी देउरालीमा भूमी पूजा, धुरी देउराली, पानीका मूल-मुहान आदिमा पूजा गर्दछन | यसमा रचिबाङको बराहा पूजा र गाउँको सिरानको सिद्ध बराहा प्रमुख हुन् | रचिबाङको बराहा पूजामा भेडाको पंच बलि दिइन्छ र यसको पूजारीको काम चाँही रोका खलकले गर्दछन | यस बाहेक दशैमा गाउँलेहरुले संयुक्त रुपले राँगोको पंच बलि दिई देवीको पूजा पनि गर्दछन | पंच बलि भन्नाले पूजामा काटिने बलिलाइ कसैले व्यक्तिगत रुपले नभई गाउँले (पुरानो शब्दमा पंचायतले) दिने भएकोले पंच बलि भनिएको हो | कुल देवताको पूजा चाँही हरेक तिया बर्षमा (एक बर्ष बिराएर) गर्ने चलन छ, जसमा भीमसेन, सिद्ध, पछिवा (पश्चिम) बराहाहरु पर्दछन | यस बाहेक हरेक परिवारले हरेक बर्ष गर्ने एउटा प्रमुख पूजा भनेको आफ्नो पुर्खाहरुको पितृ पूजा हो जसलाई स्थानीय भाषामा "पितर" पूजा भनिन्छ | यसको लागि एउटा भाले चल्लालाइ मन्छाएर बर्ष दिन पालेर पितर थानमा लगेर पूजा गरिन्छ | पितर थान भनेको हरेक थरले आफ्ना पुर्खाहरुको नाममा बनाएको बिसौनालाइ भनिन्छ | कसै कसैले ग्रह शान्ति गर्नका लागि रुकुमकोटबाट पण्डित बोलाई सत्यनारायणको कथा चलाई गौ दान पनि गर्दछन | यो पूजामा अलिक बढी खर्च हुने भएको कारणले गर्दा बिशेष गरेर अलिक हैसियत हुनेहरुले मात्र गर्दछन | यस बाहेक अन्य हिन्दु देवी देवताहरुको खासै पूजा आजा भएको पाइदैन |
|
|
|
|
चाड पर्ब
लुगुम्यालहरुले मनाउने प्रमुख चाडपर्बहरुमा दशैँ तिहार, माघे संक्रान्ति, चैते दशैँ, राँखे (साउने संक्रान्ति), भूमे र जनै पुर्णिमा हुन् | दशैँ तिहारमा टिका जमरा लगाइएता पनि यो हिन्दुहरुले मनाउने दशैँ तिहार भन्दा केहि फरक तरिकाले मनाइन्छ | साथै तिहारमा देउसी नखेली भैलो मात्रै खेलिन्छ | राँखे अर्थात् साउने संक्रान्तिमा असार मसान्तको बेलुकी गाउँ भरि राँको बालेर र घन्टी बजाएर उत्सब मनाइन्छ र भोलि पल्ट बिहानै रोटि हालेर र राँगो काटेर खाने चलन छ | साथै साउन महिनामा खिर खायो भने मोक्ष्य हुन्छ भन्ने विश्वास भएकोले हरेक परिवारले श्रावण महिनामा एकपटक जसरि भए पनि खिर पकाएर खाने कोशिस गर्दछन | जनै पुर्णिमा चाँही रुकुमकोटबाट पण्डितहरु आएर घर घरमा गइ धागो बाँधी दिने चलन छ र यहि जनै पुर्णिमामा रचिबाङ बराहाको पूजा गरिन्छ र त्यहाँ एउटा सानो तिनो मेला पनि लाग्दछ | लुगुम्यालहरु मात्रै नभई सम्पूर्ण खाम मगर समाजले मनाउने अर्को प्रमुख पर्ब माघे संक्रान्ति हो | यसमा पुरुषहरुले चेली पर्नेहरुलाई फलफूल र दक्षिणा सहित पुज्ने गर्दछन भने चेलीहरुले आफ्ना माइति दाजुभाई, बुबा, मामाहरुलाई रक्सि लगेर सम्मानित गर्दछन | माघे संक्रान्तिमा धनुष बाण र बन्दुकले तारा हान्ने चलन छ भने बुढापाकाहरुले घरघरमा गएर "स्याम्भु" गाएर रक्सि मागी खाने चलन छ | साथै रोटी झानेर र सुँगुर राँगा काटेर पर्ब मनाइन्छ | चैते दशैमा चाँही भाले काटेर पूजा गरिन्छ र राँगा काटेर मासु खाई पर्ब मनाउने चलन छ | यस बाहेक सबै भन्दा धुमधामले मनाउने पर्ब चाँही भूमे पर्ब हो र जसको बारेमा माथि नै लेखि सकिएको छ |
|
|
|
|
बिहेबारी
मगर समाजमा प्राय गरेर मामाको छोरीलाई मागेर बिबाह गर्ने चलन छ | सायद यो चलन दाजु बहिनी वा दिदि भाई बिचको रगतको नाता र सम्बन्धलाई कायमै राखी अझै बलियो र निरन्तरता दिनलाई चलेको होला | यो चलन अहिले आधुनिकताको कारणले प्राय हराई सकेको भएता पनि मामा अथवा माइती साइनो पर्नेका छोरी चेलीसंग नै बिहेबारी गर्ने चलन भने अझै पनि कायमै छ | पहिले पहिले बच्चैमा छोरी मागी बिहे नभए सम्म पाहुर बोक्ने चलन थियो | जस अनुसार बच्चीको आमा बाबालाई शाहिमासाको रुपमा रक्सि सहित केहि पैसा दिएर मनाए पछी हरेक चाड पर्वमा एक डोको रोटी र २-३ धार्नी रक्सि पाहुरको रुपमा लगेर दिने चलन थियो | यो पाहुर पुर्याउने काम केटा केटीको बिहे नभए सम्म नै गर्नु पर्थ्यो | पहिलेको लाटो जमानामा त यस्तो खाले मागी बिबाह प्राय सफल नै हुन्थ्यो तर पछी पछी बिस्तारै केटा केटीले एक अर्कालाई मन नपराई बिहेको लगत्तै प्राय गरेर केटिले घर नै नधानी सम्बन्ध बिच्छेद हुन् थाले पछी मानिसहरुले यसरि बच्चैमा केटि माग्ने काम बिस्तारै छोड्दै गए | अहिले प्राय गरि साइनो मिल्ने केटा केटीले आफै एक अर्कालाई मन पराइ भगाई लग्ने चलन बढी छ | बिहेमा केटि पक्षले दाइजोको रुपमा गर गहनाका साथै कांस र तामाका भाँडा कुँडा, भेडा र गाइ बस्तुहरु दिने चलन छ | बिहे भै सके पछी केटा पक्षले केटि पक्षलाई कोसेली रुपमा एउटा राँगा र ५ धार्नी रक्सि दिने चलन छ जसलाई "छाँङरा" भनिन्छ | उक्त कोसेली राँगा केटि पक्षका भाई खलकहरुले काटेर खाने चलन छ | यदि केहि गरि बिहे पश्चात केटीले केटा मन परेन भने केटाको बिहे खर्च र पाहुर खर्च तिरेर सम्बन्ध बिच्छेद गर्न सक्छन जसलाई "झगरा" तिर्ने भनिन्छ भने यदि केटाले केटि मन नपरी सम्बन्ध बिच्छेद गरेमा केटीले दाईजोमा ल्याएको सबै सम्पत्ति फिर्ता गरी केटीलाई हर्जना स्वरूप पैसा तिर्छन जसलाई "फार्सा" दिने भनिन्छ | यो झगरा र फार्साको रकम कति दिने भनेर झगरा वा फार्सा बुझिलिने पक्षको सहमति र मन्जुरीमा भलादमीहरुले गरि दिन्छन |
|
|
|
|
नाँचहरु
लुगुममा नाँचिने प्रमुख नाँचहरुमा भूमे, दिगरे, नाँचने र झोल्यानी हुन् | आधुनिकीकरणका साथ मानिसहरुले आफ्नो पुरानो संस्कृति र परम्परालाइ बिर्सिदै जाने क्रममा नाँचने र झोल्यानी जस्ता प्रसिद्ध नाँचहरु लुगुमबाट लोप भै सकेका छन् भने भूमे नाँच अझै पनि हरेक असार संक्रान्तिमा धुमधामका साथ नाँचिन्छ, तर हरेक दशैँ र बिहेबारी जस्ता शुभ अबसरमा नाँचिने दिगरे भने लोप हुने अबस्थामा छ त्यसकारण यसको पनि बेलैमा संरक्षण गरिएन भने छिट्टै नाँचने र झोल्यानी जस्तै लोप भएर जानेछ |
भूमे नाँच असार संक्रान्तिमा गाउँका बुढापाका देखि लिएर आइमाई केटाकेटी एकै साथ लाम बद्ध भएर नाँचिने नाँच हो | यसमा गाउँका दमाईहरुले दमाहा, सहनाई, झ्याली जस्ता बाजाहरु बजाउँदछन् | भूमे बाजा अतिनै मनमुग्ध हुन्छ र यसको आफ्नै यस्तो बिशेष रौनकता हुन्छ कि भूमे पर्ब सकिएको हप्तौ सम्म पनि यो बाजा कानमा गुन्जी रहन्छ |
नाँचने नाँच अन्तिम पटक लुगुममा २०१०-१२ साल तिर नाचिएको थियो रे | यो नाँचलाइ खाम मगर क्षेत्रको सायद सबै भन्दा प्रसिद्ध र रोचक नाँच भन्दा अतियुक्ति नहोला | यसमा २० देखि लिएर ५० सौ जना सम्म नचारुहरुले भाग लिन्छन | जसमा १ जना गुरु, सहायक गुरु, बाध्य बाधकका साथै नाँच टोली र नाँचका बिचमा हस्यौली गर्ने २-४ जना जोगीहरु हुन्छन | यो नाँचमा गाउँका युवाहरुले महिनौ तालिम गरेर भाग लिन्छन | त्यसपछि गाउँमा नाँचेर छिमेकका गाउँहरुमा पनि नाँच्न जान्छन जहाँ तिनीहरुको खसी राँगो काटेर धुमधामका साथ स्वागत गर्ने चलन थियो | यो नाँच बढी खर्चिलो र तयारीमा बढी समय र मिहेनत लाग्ने भएको तथा आधुनिकीकरणको कारणले गर्दा बिस्तारै युबाहरु यस नाँचबाट बिमुख हुदै गए र जगेर्नाको अभावमा अन्तमा लोप भएर गयो |
झोल्यानी नाँच पनि नाँचने जस्तै धेरै जनाको समुहमा नाचिने नाँच हो र यो पनि नाँचने जस्तै गाउँ गाउँमा गएर नाचिन्थ्यो | झोल्यानी र नाँचनेमा प्रमुख भिन्नता भनेको नाँचने नाँचमा पुरुष र तन्नेरीहरुले भाग लिन्थे भने झोल्यानीमा महिला र तरुनी केटिहरुले भाग लिन्थे | यो नाँच पनि आधुनिकताको चपेटामा परेर लोप भयो | लुगुममा यो नाँच अन्तिम पटक कहिले नाचियो भनेर थाहा हुन् सकेन |
दिगरे नाँच चाँही बिशेष गरेर दशैँमा, बिहेबारी र सत्य नारायणको कथा जस्तो शुभ अवसरमा नाँचिन्छ | यो नाँचमा १० देखि १५ जना सम्म मानिसहरु सहित मादल, पैसेरु जस्ता बाजाहरु बजाई नाँच्दछन् र यो नाँच गाउँका कामीहरुले प्रस्तुत गर्दछन | यो नाँच पनि आधुनिकीकारण चपेटामा परि लोप हुनु अबस्थामा पुगेको छ | यदि यसलाई पनि बेलैमा जगेर्ना नगर्ने हो भने यसको हबिगत पनि नाँचने र झोल्यानी जस्तै नहोला भन्न सकिन्न |
|
|
|
|
पेशा
कृषि र पशुपालन लुगुम्यालहरुको प्रमुख पेशा हो | जसमा कृषिलाई पहिलो पशुपालनलाइ दोस्रो नम्बरमा राख्न सकिन्छ | अन्य पेशामा सानातिना व्यापार व्यवसाय तथा बैदेशिक रोजगार जस्ता आय मुलक रोजगारहरु पर्दछन |
कृषिमा यहाँ हुने प्रमुख बालीहरुमा क्रमश: मकै, आलु, जौ, गहुँ, कोदो, फापर पर्दछन भने पशु पालनमा भेडा पालन र गाई पालन प्रमुख हुन् | यहाँ थोरै मात्रामा मात्रै भैसी पालन हुन्छ | परापूर्ब काल देखि नै भेडा पालन लुगुम्यालहरुको प्रमुख आएको श्रोत हो | भेडा पालनबाट लुगुम्यालहरुले भेडा पाठाहरु बिक्रि गरेर नगद आर्जन गर्छन भने यसको उनबाट काम्लो (कम्बल), राडी पाखी बनाई थप आय आर्जन गर्छन | यस्तै बाख्राबाट खसी उत्पादन गरि बिक्रि गर्दछन् | तर भेडा पालनलाइ बैदेशिक रोजगार र घोडा खच्चर जस्ता व्यवसायले बिस्तारै बिस्थापित गर्दैछन | गाई पालन चाँही बिशेष गरेर खेतीपातीको लागि मलजल र खनजोतको लागि मात्र गरिन्छ |
कृषि र पशुपालन पछी बैदेशिक रोजगार आकर्षक पेशाको रुपमा लोकप्रिय हुँदैछ र यसले पुराना परम्परागत पेशाहरुलाइ द्रुत गतिमा बिस्थापित गर्दै छ | बैदेशिक रोजगारमा प्रमुख गंत्यब्य थलोहरुमा खाडी राष्ट्र, मलेशिया, इजराएल हुन् भने बिदेशी सेनामा भर्ति हुने पनि अर्को प्रमुख आकर्षण हो | यस बाहेक लुगुम्यालहरुले सानातिना घरेलु पेशा तथा व्यापारहरु पनि गर्छन, जस्तै चोयाबाट थुन्से, डोको, मान्द्रो बनाई बेच्दछन भने अल्लो आदिबाट धागो काटी थैलो, भाङ्ग्रा, डोरी नाम्लो जस्ता सामानहरु बनाई बेच्दछन | साथै बन जंगल र बुकीहरुमा पाइने जडीबुटी संकलन गरि बिक्रि वितरण पनि गर्दछन | बिगत केहि दशक देखि घोडा खच्चर किनेर सामान ढुवानी गर्ने व्यवसायले पनि निकै लोकप्रियता पाउँदै आएको छ |
|
|
|
लेखकको अनुरोध:
माथिका लेखहरु मेरो व्यक्तिगत खोज तलास र बुढापाकाहरुको भनाइको आधारमा लेखेको हुँ, यदि यस बारेमा तपाईहरुलाई थप जानकारी भएमा कृपया लेखेर पठाई सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु |
बीर |
|
|
|
|
|
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar |
|
|