|
|
|
| बाह्रकुने मेला (दाङ) २०६८ |
|
|
|
हरेक बर्ष माघे संक्रान्तिमा मनाइने दाङको प्रसिद्ध बाह्रकुने मेलाको छोटो भिडियो | पहिले पहिले यो मेलामा स्थानीय संस्कृतिलाई झल्काउने खाले धेरै नाँच गानहरु हुने गर्दथ्यो तर अहिले त्यो लगभग लोप भई सकेको रहेछ | बाह्र बराहा मध्य सबै भन्दा कान्छो बराहाको बासस्थान मानिएको यो प्रसिद्ध धार्मिक क्षेत्रलाई बराहा क्षेत्रको नामले पनि चिनिन्छ र यहाँ घर्ति थरका मगर पूजारी रहने परम्परा रहेको छ | किम्बदन्ती अनुसार पहिले यो खाल्डो पुरै पानीले भरिएको ठुलो दह थियो रे, जसको १२ वटा कुनाहरु भएकोले गर्दा यसलाई बाह्रकुने दह भनिन्थ्यो तर अहिले यहाँ एउटा सानो दह मात्र रहेकोछ |
बालक कालमा दाङमा बढ्ने बेला मैले बाह्रकुने मेला हेरेको थिए, त्यस पछी मैले यो मेला हेर्ने अवसर पाएको थिएन | २०३६ साल पछी पहिलो पटक यस पाली फेरी बाह्र कुने बराहको दर्शन गरियो र मेला पनि हेरियो | त्यस बेलाको १२ कुने मेला र अहिलेको १२ कुने मेलामा ठुलो अन्तर आएको अनुभव मैले गरे | जसमा १२ कुनेमा भएको दहलाई वरिपरी सिमेन्टको पर्खाल लगाएर व्यवस्थित गरिएको रहेछ भने तालमा जल बिहारको लागि केहि डुंगाहरु पनि राखिएका रहेछन जुन पहिले थिएन साथै मुख्य मन्दिरको छेउमा २ वटा साना मन्दिरहरु पनि थपिएका रहेछन | त्यसबेला हामीहरु (केटाकेटीहरु) दहको छेउमा पसेर त्यहाँको माटो निकाल्दै दहमा भक्तजनहरुले चदाएको पैसा निकाल्दथ्यौ र त्यसो गर्दा दहको चौकीदारले लखेट्न आउँदथ्यौ अनि हामीहरु भाग्दथ्यौ | उक्त पैसाले हामी मिठाई किनेर खाने गर्दथ्यौ | तर अहिलेका केटाकेटीले भने त्यस्तो बदमाशी नगर्दा रहेछन | त्यस बेला मेला लाग्ने ठाउँमा कुनै रुखहरु थिएनन, वरिपरिका डाँडाहरु पनि खुइलिएका थिए, खाली धाइराका बोटहरु मात्रै हुन्थे तर अहिले मेला लाग्ने चौरमा बृक्षारोपन गरिएको रहेछ, वरिपरिका डाँडाहरु पनि संरक्षित गरिएकाले हरिया भएका रहेछन | त्यति बेला मेलामा जाँड रक्सीको पनि बेसरी प्रयोग हुन्थ्यो र रक्सीले मातेका मानिसहरु जताततै ढलेर बसेको देख्न सकिन्थ्यो तर अहिले त्यस्तो दृश्य खासै देखिएन |यस बाहेक १२ कुने बराह क्षेत्रको प्रवेश स्थलमा एउटा सुन्दर प्रवेशद्वारको पनि निर्माण गरिएको रहछ | यी कुराहरु चाँही पहिलेको तुलनामा भएका राम्रा अनुभूतिहरु थिए | तर मेला चाँही पहिलेको जस्तो रमाइलो र राम्रो लागेन | मानिसहरुको भिडभाड पहिलेको जस्तै नै भएता पनि मेलामा हुने मौलिकता र रौनकता भने पहिलेको जस्तो थिएन | किनकि त्यसबेला काँटा (दाङ माथिको पहाडी भेक) तिरबाट झरेका हुलका हुल मगर युवा युवतीहरुको आफ्नो भेषभुषा तथा संस्कृती झल्काउने खाले नाँच गानहरुले पुरै बाह्रकुने मेला रम्दथ्यो भने डुंडी, मादल, पैजन, नेवर, चाँप तथा बाँसुरीका धुनहरुले पुरै १२ कुने गुन्जिन्थ्यो | जंगलमा मृगको बथानहरु कुदे जस्तै कँताली युवा युवतीहरुको हुल नाँच्दै गाउँदै यता उता कुदेको हेर्दा त्यसको रौनक नै अर्को हुन्थ्यो तर यस पटक भने त्यस्तो खाले कुनै पनि कुराहरु देखिएन | केवल रमना हापुरको युवा क्लबले एउटा मजूर पंखी नाँच देखाएको मात्रै देखियो | एक ठाउँमा २-४ जना बुढाहरु मादल बजाएर नाँच्दै थिए | यस बाहेक अरु खासै कुनै रमझम देखिएन |फेरी त्यस बेला हाम्रो पहाड तिरका मानिसहरुले हिउँदमा काँटा तिर भेंडा लिएर आउने चलन थियो र माघे संक्रान्तिमा भेंडा हेर्ने मानिस बाहेक सबै जसो मानिसहरु भेंडाको ऊँनबाट बनेका कम्बलहरु लिएर माघ मान्न १२ कुने मेलामा आउँदथे र आफ्ना कम्बलहरु पनि बेच्ने काम गर्दथे | त्यस्ता मानिसहरुको समुहले १२ कुनेको कुना काप्चा भरिएको हुन्थ्यो र तिनीहरुलाई भेट्दा खेरी आफुलाइ गाउँ घर नै पुगेको जस्तो भान हुन्थ्यो | तर यस पटक त्यस्तो पनि कतै देखिएन | फेरी त्यसबेला काँटा तिरको सुन्तला, तरुल, बदाम र दाङको कोसेरा उखुले १२ कुने मेला भरिएको हुन्थ्यो र त्यहि नै यस मेलाको बिशेष सौगात पनि हुने गर्दथ्यो | त्यस्ता सामान बेच्नेहरु मेलै भरी मात्रै नभएर १२ कुने छेउछाउका बाटो भरी पनि हुन्थे | तर यस पटक पकाएको तरुल बेच्नेहरुको त कुनै नाम निशान नै थिएन, सुन्तला पनि १-२ ठाउँमा मात्रै देखिन्थ्यो र त्यो पनि काँटा तिरको जस्तो ताजा र रसिलो सुन्तला नभएर इंडियाबाट ल्याएको सुकेको सुन्तलाहरु जस्तो देखिन्थ्यो | त्यसबेला सेतो खाले उखु (कोसेरा) प्रसस्त मात्रामा पाइन्थ्यो तर यस पाली भने त्यस्तो उखु एक ठाउँमा मात्रै देखियो र मानिसहरु एउटा भिड उखु किन्न तछाड मछाड गर्दै त्यहि उखु भएको ठाउँमा झुम्मिएका देखिन्थ्यो, बाँकि भने सबै दाँत नै भाँच्ने खाले रातो उखु मात्रै थियो जसमा उखु किन्ने मानिसहरुको खासै भिड थिएन | बदाम भने प्रसस्त मात्रामा नै थियो | अर्को परिवर्तन चाँही त्यसबेला घोराहीबाट मेला हेर्न पैदल नै जानु पर्दथ्यो भने अहिले चाहेको खण्डमा जिप छाडेर मेला स्थल पुग्न सकिँदो रहेछ | तर धेरै जस्तो मानिसहरु पैदल हिडेर नै आएको गएको देखिन्थे | हामी पनि पैदल हिडेर नै बेलुकी पख मेलाबाट फर्कियौ | |
|
|
|
|
|
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar |
|
|